बिहानै नोटिफिकेसनको आवाजले निद्रा खुल्यो। नोटिफिकेसन अफ
गर्न बिर्सेको रहेछु। हाल म फेसबुकमा अघोषितरुपमा छुट्टीमा बसेको छु।आजकालका
युवापुस्ता कमै मात्र यसरी छुट्टीमा बस्ने गर्छन्। मेरो साथी बिनोदले त फेसबुक 'डिएक्टिभेट' नै गरेको छ। फेसबुकको दुनियाँ भन्दा बाहिर असली दुनियाँमा जिउने प्रयासमा
छु। तर, केहि अनौठो लाग्छ। फेसबुक नोटिफिकेसन खोल्छु।
हेर्छु । बुवाले मलाई फेरी आफ्नो पोस्टमा ट्याग गर्नुभएछ।
फेसबुकमा यो बुवाको दोस्रो वर्ष हो। अब त उहाले old memories बाट पुराना कहानीहरु दोहोर्याउन थाल्नु भइसक्यो। उहाले ती यादहरुलाई पनि
सम्मानका साथ टिप्पणी सहित फेसबुकका भित्ताहरुमा पोस्टिनु हुन्छ। कहिले काही
हेर्छु , काला चश्मामा भूवन केसी लुक्सका फोटोहरु
देखिन्छन्। त्यसमा मेरी आमाका उमेरसमूहका महिलाहरु टिप्पणी माथी प्रति टिप्पणी पनि
प्रशस्त देख्न पाइन्छ।
मलाई फेसबुकमा टिप्पणी माथी टिप्पणी गर्न मिल्ने सुविधादेखि
दिक्क लाग्छ। बुवा हरेक टिप्पणीको जवाफमा प्रति टिप्पणी दिइरहनु हुन्छ। यो उहाको
दिनचर्याको पाटो हो।
मेरी आमा हैरान हुनुहुन्छ। मसँग गुनासो गर्नुहुन्छ - तिम्रो
बुवा बच्चा भन्दा बढी हुनुभइसक्यो, सधैं मोबाइल मात्र
खेलाएर बस्नुहुन्छ। परिवारको दृष्टिकोणमा म 'प्रविधि
विज्ञ' मानिएको छु। 'बुवालाई
सम्झाई /बुझाई गरोस्' भन्ने
सबैको ममाथि आश छ।
कहानी उहाको पहिचान बनेको छ। उहाका प्रत्येक स्टाटसमा कैयौं
कहानीहरु लुकेर बसेका हुन्छन्। ती कहानीहरु कतिका साचो छन्, हामीले
कहिले थाहा पाएनौं।
आधुनिक समाजमा पनि पुरानै सती सावित्री बनेकोमा बुवाको आमाप्रति सधैं गुनासो रहने गरेको छ। कहिले काही रुष्ट पनि ।
एकदिन बुवाले मलाई अनुरोध गर्नु भयो, 'मलाई तेरी
आमाले 'जहिले फेसबुक चलाएर बस्छ' भनेर गाली मात्र गर्छे। एक चोटी सम्झाइदे'न त्यसलाई।'
कहिले काही आमा मलाई भन्नुहुन्छ, 'बाबु मेरो
पनि फेसबुक खोल्देन। तिम्रो बुवासँग कुरा गर्नै पाउदिन।'
मलाई डर लाग्छ - आमाको पनि फेसबुक
खुलेपछि घरको अवस्था के रहला ?
साथीहरु मलाई भन्ने गर्छन्, 'अहिलेको
युगमा पनि यस्तो आधुनिक बुवा पाएका छौं, तिमी कति
भाग्यमानी छौ।'
बुवालाई फेसबुकमा आएको एक वर्षभन्दा बढी भयो। उहाका साथी
तीन हजार प्लस छन्। एउटा स्टाटसमा एक हजार भन्दा बढी लाइक्स आउछन्। उहाको आईडीबाट सधैंजसो
क्याण्डिक्रसको रिक्वेस्ट आइरहन्छ।
जब बुवाको पोस्टमा ट्याग भएको थाहा पाए मैले एप्लिकेसन
खोलेर हेरे। एउटा कहानी रहेछ। जसमा उहाको औला समातेर मेरो बाल्यकाल हिडिरहेको थियो। त्यस स्टाटसमा २० भन्दा बढी टिप्पणीहरु आएका छन्। केहि उहाका साथीहरु त केहि मेरा ।
धेरैजसो त नातेदारहरुको उपस्थिति थियो।
म उहाका स्टाटसलाई बिरलै नियाल्छु। कहिलेकाहि झुक्किएर लाइक
गर्छु। टिप्पणी त कहिले गर्दिन। लाग्छ, उहालाई मेरो टिप्पणीको
आवश्यकता छैन। उहा चार दशकको आफ्नो अनुभवले नै समृद्ध हुनुहुन्छ। आमाबुवाको साथ
बच्चाको सफलतामा भन्दा पनि असफलतामा हुन्छ। बुवाआमाले असफलतामा साथ छोड्दैनन् बरु
हौसला दिएर अगाडी बढ्न प्रोत्साहित गर्छन्।
सन्तानले गरेका गलतीलाई सच्याएर असल बाटोमा डोर्याउछन् - उहाले
जो हामीलाई सिकाउनुभएको छ। आज 'म जहा छु, जुन अवस्थामा छु', त्यो सब मेरो बुवा आमाको देन
हो।
आमाले दिनको तीन चोटी के 'खाइस् कि खाइनस्?' र 'सञ्चै छस्, बाबु?' भनेर सोधनुहुन्छ। बुवाले मलाई खासै फोन गर्नुहुन्न। आज कुशें औंशीको दिन बिहानै मैले बुवालाई सम्झेर फोन गरे । बुवाले मिनेट नबत्दै फोन आमालाई थमाइदिनुभयो।
आमाबाट मैले बुवाको गुनासो सुन्न पाए, 'के हो बाबु ? तैले बुवाले राख्या फोटोमा कमेन्ट नै गरिनस् रे'त?'